डोटी । बोगटान फुड्सिल गाउँपालिका–४ मा रहेको जोराघाट माध्यमिक विद्यालयका शिक्षक भागिराम चौधरीले आफूलाई ज्यान मार्ने धम्की दिइएको भन्दै सम्बन्धित निकायमा सुरक्षाको माग गरेका छन्।
प्रधानाध्यापक नियुक्तिसम्बन्धी विषयलाई लिएर आफूलाई केही स्थानीय व्यक्तिबाट धम्की तथा दुर्व्यवहार भएको चौधरीको आरोप छ। उनले घटनाबारे प्रहरी, गाउँपालिका तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यालयहरूमा लिखित जानकारी गराएका छन्।
चौधरीका अनुसार स्थानीय गणेश भुल, गोविन्द बिनाडी र नरबहादुर थापाले आफूलाई धम्की दिएको भन्दै उनले उजुरीमा उल्लेख गरेका छन्। उनीहरूमध्ये केही व्यक्तिले हातहतियार तथा काठको मुडा लिएर आफूमाथि आक्रमणको प्रयास गरेको चौधरीको दाबी छ।
उनले आफूलाई शारीरिक आक्रमणको समेत प्रयास भएको र त्यसबाट जोगिन सफल भएको बताएका छन्। घटनापछि आफ्नो सुरक्षालाई लिएर चिन्तित बनेका चौधरी हाल आफ्नो गृहजिल्ला बर्दिया पुगेका छन्।
प्रधानाध्यापक नियुक्तिसँग जोडिएको विवाद
चौधरी २०८० पुसदेखि जोराघाट माध्यमिक विद्यालयमा कार्यरत रहेको बताइएको छ। विद्यालयका प्रधानाध्यापक लोकराज बिनाडीले शिक्षा नियमावलीको १०औँ संशोधनसँग सम्बन्धित विषयका कारण राजीनामा दिएपछि प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढेको थियो।
चौधरी विद्यालयका सहायक प्रधानाध्यापकसमेत रहेकाले आफूलाई प्रधानाध्यापक बनाउन सकिने विषयलाई लिएर विवाद सिर्जना भएको उनको भनाइ छ।
तर, आफूले प्रधानाध्यापक बन्ने दाबी नगरेको चौधरीले बताएका छन्। आफ्नो नियुक्तिको सम्भावनालाई लिएर केही स्थानीयलाई प्रयोग गरी आफूमाथि दबाब र आक्रमणको प्रयास गरिएको उनको आरोप छ।
गाउँपालिकाले छलफलबाट समाधान खोज्ने
गाउँपालिकाको शिक्षा शाखाका अनुसार हाल शिक्षक देवबहादुर कुँवरलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ।
शिक्षक चौधरीमाथि भएको भनिएको दुर्व्यवहारबारे गाउँपालिकामा समेत जानकारी पुगेको शिक्षा शाखा प्रमुख चेतराज बिनाडीले बताएका छन्।
गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले घटनाबारे दुवै पक्षसँग छलफल गरेर समाधान खोजिने बताएका छन्। विद्यालय व्यवस्थापन समिति र सम्बन्धित वडाका प्रतिनिधिसँग समेत समन्वय गरिने उनको भनाइ छ।
शिक्षा शाखा प्रमुख बिनाडीले शिक्षकलाई धम्की दिइएको विषय गम्भीर भएकाले पालिकाले आवश्यक पहल गर्ने बताएका छन्। उनका अनुसार वडा तहमा समाधान हुन नसके गाउँपालिकाबाटै दुवै पक्षबीच छलफल गरिनेछ।
सुरक्षा नहुँदासम्म विद्यालय फर्किन नसक्ने शिक्षकको भनाइ
चौधरीले भने आफू अझै विद्यालयमा फर्किने अवस्थामा नरहेको बताएका छन्। आफ्नो सुरक्षाको सुनिश्चितता नभएसम्म विद्यालयमा गएर काम गर्न कठिन हुने उनको भनाइ छ।
आफूमाथि भएको भनिएको घटनामा संलग्न व्यक्तिमाथि छानबिन तथा कानुनी कारबाही हुनुपर्ने माग गर्दै उनले प्रहरी कार्यालय, शिक्षा मन्त्रालय, शिक्षक महासंघ, गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिएका छन्।
घटनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान तथा दुवै पक्षसँग छलफल हुने अपेक्षा गरिएको छ।
