धरान । एक अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का ज्योति शाही रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले शाहीलाई धरानको खैरेनी क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार शाहीमाथि १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको आरोप छ। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले अनुसन्धानका क्रममा उक्त रकम बराबरको कारोबार देखिएको जानकारी दिएका छन्।
शाहीले केही व्यक्तिसँगको सहकार्यमा इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गरी मनी ट्रान्सफर सञ्चालन गर्दै आएको प्रहरीको दाबी छ।
अनुसन्धानका क्रममा मनी ट्रान्सफरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा उनका नाममा खाता सञ्चालनमा रहेको भेटिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
