गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शान्ति सेवा गृहको आयोजनामा गरिएको शिविरमा विस्थापित बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो ।
शान्ति सेवा गृहका उत्तम निरौलाले बाढीका कारण घर तथा थातथलो छाडेर काठमाडौंमा बस्न बाध्य भएका परिवारको स्वास्थ्य अवस्था पहिचान गर्न शिविर सञ्चालन गरिएको बताए । उनका अनुसार शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै स्त्रीरोग, बालरोग, आँखा, दाँत तथा प्रयोगशाला परीक्षणको व्यवस्था गरिएको छ ।
शिविरमा उपचारपछि थप स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीलाई फलोअप, औषधि तथा आवश्यक परे अस्पतालसम्मको सेवा निःशुल्क उपलब्ध गराइने उनले बताए । गम्भीर बिरामीलाई शान्ति सेवा गृहसँग सम्बन्धित अस्पतालमा वा आवश्यकताअनुसार अन्य अस्पतालमा समेत उपचारका लागि पठाइने उनको भनाइ छ । उनले बाढी प्रभावित परिवारका बालबालिकाको शिक्षामा समेत सहयोग गर्ने बताए ।
उनले भने, ‘अहिले गरेको इभेन्ट शान्ति सेवा गृहमार्फत गर्दैछौँ । रसुवा र नुवाकोटमा बाढीका कारण ठाउँ छोडेर काठमाडौंमा विस्थापित भएर बस्नुपरेका मानिसहरूमा स्वास्थ्य समस्या छ कि छैन र हामीले थप के सहयोग गर्नुपर्छ भन्ने पहिचान गर्न पहिलो चरणमा स्वास्थ्य क्याम्प गरेका हौँ ।’
शिविरमा एक सयभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । अधिकांशमा रुघाखोकी, ज्वरो, कान पाक्ने तथा झाडापखालाजस्ता समस्या देखिएको बालरोग विशेषज्ञ डा. कौशलले बताए । त्यसैगरी करिब १५ देखि २० जना बालबालिकामा मनोवैज्ञानिक त्रास देखिएको उनको भनाइ छ । उनीहरूलाई मानसिक स्वास्थ्य विशेषज्ञकहाँ रिफर गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘मनोवैज्ञानिक त्रास भएका लगभग १५–२० जना बालबालिका हुनुहुन्थ्यो । उहाँहरू सबैलाई मानसिक रोग विशेषज्ञलाई हेर्न लगाएका छौँ ।’
आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी निर्देशक तथा साइकोथेरापिस्ट साधना थापाले बाढी प्रभावितमा मानसिक र भावनात्मक असर देखिएको बताइन् । बाढीले परिवारका सदस्य गुमाउनुका साथै घर, जग्गा, खेती तथा सम्पत्ति गुमाएका कारण अधिकांशमा मानसिक असर परेको उनको भनाइ छ ।
उनका अनुसार बालबालिकामा फेरि बाढी आउने डर, राति झस्किने, असुरक्षित महसुस गर्ने तथा ‘अब कहाँ जाने’ भन्ने अन्योल देखिएको छ । यस्तो अवस्थामा व्यक्तिगत मनोचिकित्सा तथा समूहगत रूपमा शोक व्यवस्थापन र मनोसामाजिक सहयोग आवश्यक रहेको उनले बताइन् ।
उनले भने, ‘सानो बच्चादेखि वृद्धसम्म हरेक मानिस भावनाको हिसाबले, मनको हिसाबले, ग्रीभिङको हिसाबले प्रभावित हुनुहुन्छ । प्रभावितहरूमा अत्यधिक चिन्ता, राति झस्किने, डर लाग्ने तथा भविष्यप्रतिको अन्योल देखिएको छ । विशेषगरी बालबालिकामा अब यहाँ पनि बाढी आउँछ, अब हामी कहाँ जाने ? भन्ने किसिमको डर र अन्योल देखिएको छ ।’
रसुवा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछानेले बाढी प्रभावितका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर शान्ति सेवा गृहले महत्वपूर्ण सहयोग गरेको बताए । उनले बाढीपीडितको स्वास्थ्य, शिक्षा र मनोसामाजिक अवस्थाबारे राज्यले थप व्यवस्थित रूपमा काम गर्नुपर्ने बताए ।
बाढी गएको करिब एक महिना बितिसक्दा पनि विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा पर्याप्त काम नभएको उनको गुनासो छ । राहत सामग्री वितरण भइरहे पनि प्रभावित परिवारमा भविष्यप्रति विश्वास र आत्मविश्वास जगाउने कार्यक्रम गर्न आवश्यक रहेको उनले बताए ।
उनले काठमाडौंमा बसिरहेका प्रभावित परिवारले घरभाडा, बालबालिकाको शिक्षा तथा दैनिक जीविकोपार्जनमा समस्या भोगिरहेको उल्लेख गरे । स्थानीय क्षेत्रमा तत्काल पुनःस्थापना सम्भव नहुँदा रोजगारी र शिक्षाका कारण काठमाडौं आएका परिवारका लागि सरकारले अन्तरिम व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अब पढ्नेहरू पढ्नमा लाग्नुप¥यो, काम गर्नेहरूलाई काम गर्ने वातावरण सिर्जना हुनुप¥यो । मुख्यतः मानिसहरूमा हामीसँग राज्य छ, सरकार छ, सरकारले पुनःस्थापनाको बन्दोबस्त गर्छ, शिक्षा र स्वास्थ्यको विशेष व्यवस्था गर्छ भन्ने आत्मविश्वास सिर्जना हुनुपर्छ ।’
रसुवाका विकास लामाले एकै वडाका मात्रै करिब २०० घरधुरी काठमाडौंमा रहेको बताए । बाढीपछि थप करिब १०० देखि १५० घरधुरी काठमाडौं आएको उनको भनाइ छ । बाढीले कृषि, व्यवसाय र रोजगारीका आधार नष्ट भएपछि बालबालिकाको पढाइ तथा परिवारको दैनिक खर्च व्यवस्थापनमा समस्या परेको उनले बताए ।
प्रभावित परिवारका लागि तत्कालीन राहतसँगै दीर्घकालीन आयआर्जन र पुनःस्थापनाको योजना आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘पहिला बाउआमाले कमाउँथे, कमाइरहन्थ्यो, त्यसअनुसार बच्चाहरूको खर्च हुन्थ्यो । अहिले कसैको बाउ ड्राइभर गरेर गुमेको छ, कसैको बोर्डर साइडमा मजदुरी गरेर परिवार धानिरहेको थियो, त्यो अवस्था पनि छैन ।’
नुवाकोट विदुर–१० बेत्रावतीका पवन डंगोलले बाढीका कारण आफ्नो परिवारको आर्थिक अवस्था र आवास दुवैमा ठूलो क्षति पुगेको बताए । तत्कालै आफ्नो क्षेत्रमा फर्केर बस्ने अवस्था नरहेकाले बालबालिकाको शिक्षा र परिवारको आधारभूत आवश्यकताका लागि काठमाडौंमै बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
उनले बेत्रावती क्षेत्रमा स्थायी पुनःस्थापना चुनौतीपूर्ण देखिएको बताए । उनका अनुसार तत्कालका लागि अस्थायी पुनःस्थापना सम्भव भए पनि भविष्यमा जोखिम मूल्याङ्कन गरेर स्थायी बस्तीका विषयमा निर्णय गर्नुपर्ने अवस्था छ ।
शान्ति सेवा गृहले सञ्चालन गरेको शिविरमा स्वास्थ्य परीक्षणसँगै प्रभावित परिवारको आवश्यकता बुझ्ने, शिक्षा, आवास, औषधि, मनोसामाजिक सहयोग र जीविकोपार्जनका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने जनाएको छ ।
संस्थाका अनुसार अहिले रसुवा र नुवाकोटका करिब २५० परिवार सम्पर्कमा छन् भने थप प्रभावित परिवारले पनि सम्पर्क गर्न सक्नेछन् । शिविरमा सहभागी परिवारको स्वास्थ्य तथा अन्य आवश्यकताको विवरणसमेत संकलन भइरहेको संस्थाले जनाएको छ ।
संस्थाले अभिभावक दुवै गुमाएका बालबालिकालाई आश्रममा राखेर कक्षा १२ सम्मको शिक्षा तथा हेरचाहको जिम्मेवारी लिने र परिवारका सदस्यसँग बस्न सक्ने बालबालिकालाई विद्यालय शुल्क तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।
साथै बाढी प्रभावित परिवारको जीविकोपार्जनका लागि सिलाइ–बुनाइ, मेकानिक्स, कुखुरापालनलगायत पेसाअनुसार आवश्यक सामग्री उपलब्ध गराउने पनि संस्थाको तयारी छ ।
