नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनी आधारबिना विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम नरोकिए त्यसको राजनीतिक तथा अन्य मूल्य सरकारले ठूलो रूपमा चुकाउनुपर्ने बताएका छन्।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले कसैलाई लक्षित गरेर अर्को पक्षलाई डर देखाउने उद्देश्य राखेको हो भने यस्तो रणनीति सरकारकै लागि प्रतिकूल हुन सक्ने धारणा व्यक्त गरे। उनले यस्ता घटनालाई निरन्तरता नदिन सरकारलाई आग्रहसमेत गरे।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउसँग जोडिएको सुरक्षा चुनौतीको तर्कबारे प्रश्न उठाउँदै प्रचण्डले वास्तविक सुरक्षा जोखिम रहेको भए पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको सुरक्षामा थप जनशक्ति परिचालन गर्नुपर्ने बताएका छन्।
उनका अनुसार ‘सुरक्षा थ्रेट’लाई पक्राउको आधारका रूपमा प्रस्तुत गर्नु पर्याप्त कारण हुन नसक्ने देखिन्छ। उनले सरकारको उक्त दाबीप्रति असहमति जनाउँदै घटनाको वास्तविक तथ्य समयसँगै बाहिर आउने बताएका छन्।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले दिएको सम्बोधनबारे पनि प्रचण्डले प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट उठाउनुपर्ने विषय नै प्रस्तुत गरेको भन्दै त्यसलाई अस्वाभाविक रूपमा व्याख्या गर्न आवश्यक नरहेको उनको भनाइ छ।
प्रधानमन्त्रीको स्थानमा अन्य व्यक्ति भएको भए पनि नेपालको प्रतिनिधित्व गर्दै त्यस्तै विषय उठाउन सकिने प्रचण्डले बताएका छन्।
