श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले विशेषगरी हाइड्रोपावर र टनेल निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे सूचना दिन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् ।
सांसद राईले भोजपुर र म्याग्दीका घटनालाई जोड्दै पछिल्लो समय सञ्चार सम्पर्क विच्छेद हुँदा नागरिकको अवस्थाबारे जानकारी पाउन कठिन भएको बताए । उनले म्याग्दीमा कार्यरत एक युवा सम्पर्कविहीन भएको र उनको परिवारले आफूलाई चिन्ता व्यक्त गर्दै सम्पर्क गरेको जानकारी सदनलाई गराएका छन् ।
सांसद राईका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सुविधा अवरुद्ध हुँदा मानवीय क्षति र अवस्थाबारे यकिन जानकारी प्राप्त गर्न सकिएको छैन ।
