नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले सरकारले ल्याएको ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ को आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले उक्त विधेयक कानूनी सिद्धान्तविपरीत र केवल दलगत स्वार्थसिद्ध गर्नका लागि ल्याइएको भन्दै यसले मुलुकमा सुशासन र स्थायित्वको धज्जी उडाएको दाबी गरेका हुन् । सांसद कँडेलले सर्वोच्च अदालतको पूर्वफैसलालाई उद्धृत गर्दै कानून पुनर्जीवित गर्ने सरकारी कदम कानूनी रूपमा समेत त्रुटिपूर्ण रहेको जिकिर गरे ।
उनले भने, ‘सिके राउतसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले अध्यादेश निष्क्रिय भएपछि पुरानै व्यवस्था स्वतः सक्रिय हुने नजिर स्थापित गरिसकेको अवस्थामा फेरि विधेयक ल्याउनुको कुनै तुक छैन । तीन–तीन महिनामा आफ्नो स्वार्थअनुसार कानूनका दफा हटाउने र पुनः जगाउने प्रवृत्तिले देशमा थिति बस्दैन । यो विधेयक नितान्त पार्टीगत स्वार्थबाट प्रेरित छ । यदि पुरानो कानून नै जगाउने हो भने त्यतिबेला नियुक्त भएका पदाधिकारीलाई पनि ब्युँझाइदिनुस्, संसद पनि पुरानै जगाइदिनुस् । यो परिपाटीले लोकतन्त्र र कानूनी शासनलाई बलियो बनाउँदैन ।’
वर्तमान सरकारले स्थायित्व र सुशासनको नारा दिएर सत्ता सम्हालेको स्मरण गराउँदै उनले यस्ता गैरजिम्मेवार कदमले मुलुकको अर्थतन्त्र र लगानीको वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिए । उनले व्यङ्ग्य गर्दै सरकारलाई जान्नेलाई छान्ने भन्दै सत्तामा पुगेको दलले यस्तो गैरकानूनी बाटो समात्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
