महोत्तरी — जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी गरी २८ हजार ४३५ जनाले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गर्न आवेदन दिएका छन्।
भूमि समस्या समाधान समिति महोत्तरीका अनुसार प्राप्त आवेदनमध्ये २८ हजार २२७ वटा विवरण प्रणालीमा प्रविष्ट भइसकेका छन् भने २०८ वटा आवेदन अझै प्रविष्ट हुन बाँकी छन्।
प्रविष्ट भएका आवेदनमा भूमिहीन परिवारको संख्या सबैभन्दा धेरै छ। त्यसमध्ये ८ हजार ४१८ आवेदन भूमिहीन दलित र ७ हजार ८२१ आवेदन भूमिहीन सुकुमवासीका रहेका छन्। यस्तै, अव्यवस्थित बसोवासीका ११ हजार ६९१ आवेदन प्रणालीमा समावेश भएका छन्।
समितिले २१७ वटा आवेदन भने प्रक्रियामा समावेश गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको जनाएको छ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूले जिम्मेवारी सम्हालेपछि भूमि समस्या समाधानको कामलाई निरन्तरता दिइरहेको बताए। निर्धारित प्रक्रिया र कानुनी पद्धतिअनुसार काम गर्नुपर्ने भएकाले लालपुर्जा वितरणको प्रक्रिया पूरा हुन केही समय लाग्ने उनको भनाइ छ।
महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह छन्। जिल्लाका १३८ वडामध्ये सम्सी–४, पिपरा–१, सोनमा–५ र ६ तथा मनराशिश्वा–७ र ९ मा भने भूमिहीन दलित, भूमिहीन सुकुमवासी वा अव्यवस्थित बसोवासीका कुनै पनि आवेदन नपरेको समितिले जनाएको छ।
भूमिसम्बन्धी दाबी तथा हकभोगका विषयमा सातदिने सूचना जिल्लाका ११७ वडामा प्रकाशित गरिएको छ। त्यस्तै, ९३ वडामा वडास्तरीय सहजीकरण समिति गठन भइसकेको छ। समितिका अनुसार हालसम्म २६ वडामा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीको पहिचान गर्ने काम पूरा भएको छ।
पालिकास्तरमा भने सम्सी, सोनमा, महोत्तरी, जलेश्वर र बर्दिबासमा मात्र सहजीकरण समिति गठन भएको जनाइएको छ।
लालपुर्जा वितरणअघि सम्बन्धित व्यक्तिको हकभोग, जग्गाको अवस्था र प्रकृति यकिन गर्न स्थलगत अध्ययन गरिनेछ। त्यसपछि नाप–नक्सा लगायतका प्रक्रिया पूरा गरी वडा तथा पालिकास्तरीय सहजीकरण समितिबाट सिफारिस भएका आवेदन जिल्ला भूमि समस्या समाधान समितिमा पुग्नेछन्। समितिले आवश्यक अध्ययनपछि अन्तिम निर्णय गर्ने प्रक्रिया रहेको छ।
वर्तमान सरकार गठनपछि जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन गरिएको हो। आवश्यक प्रक्रिया पूरा गरेर योग्य भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने समितिले जनाएको छ।
