काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय, नीति र अनुशासनविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि अब कडा कदम चालिने बताएका छन्।
मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूसँग भर्चुअल माध्यमबाट भएको छलफलमा ओलीले पार्टीलाई आगामी कार्यभारमा केन्द्रित भएर अघि बढ्न निर्देशन दिएका हुन्।
उनका अनुसार पार्टीको हालै सम्पन्न तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई संगठनभित्रको विवाद र अनुशासनसम्बन्धी विषयमा एउटा निर्णायक बिन्दुका रूपमा लिइएको छ। अब पार्टीको आधिकारिक नीति र निर्णयविपरीत अभिव्यक्ति दिने वा संगठनमा अराजकता सिर्जना गर्ने गतिविधि सह्य नहुने उनको भनाइ थियो।
ओलीले एमालेका लागि तत्कालीन प्राथमिकताका रूपमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्ने तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई अघि सारेका छन्। निर्वाचनको समय नजिकिँदै गर्दा आन्तरिक विवादमा अल्झिनुभन्दा संगठनलाई बलियो बनाउँदै चुनावी तयारीमा केन्द्रित हुन उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
संगठन पुनर्गठनमा जोड
अध्यक्ष ओलीले निष्क्रिय अवस्थामा रहेका जनसंगठनहरूलाई पुनःसक्रिय बनाउने प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। संगठन निर्माण र विस्तारका लागि सबै तहका नेता तथा कार्यकर्ता आफ्नो जिम्मेवारीमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
पार्टीभित्र नेतृत्व परिवर्तन वा पुनर्गठनका नाममा हुने विवादलाई अब प्राथमिकता दिन नहुने बताउँदै ओलीले संगठनलाई निर्वाचन केन्द्रित बनाउनुपर्नेमा जोड दिए।
उनले नेता–कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर काम गर्न आग्रह गर्दै पार्टीको संगठनात्मक शक्ति आगामी राजनीतिक कार्यभार पूरा गर्न प्रयोग गर्नुपर्ने बताए।
अनुशासनमा कडाइ गर्ने संकेत
पार्टीको नीति र निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिने तथा संगठनमा असन्तुष्टि वा अराजकता बढाउने गतिविधिमाथि कारबाही हुने ओलीले स्पष्ट पारे।
उनले विगतका आन्तरिक विवादलाई एक चरणसम्मको विषयका रूपमा लिए पनि अब त्यस्ता गतिविधिप्रति पार्टी नेतृत्व कडा रूपमा प्रस्तुत हुने संकेत दिएका छन्।
ओलीले देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया प्रभावित पार्ने तथा अशान्ति सिर्जना गर्ने प्रयासविरुद्ध पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा पनि राखे।
निर्वाचनलाई प्राथमिकता
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै एमालेले आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाउनुपर्ने ओलीको भनाइ थियो।
उनले निर्वाचनमा पार्टीको ध्यान केन्द्रित हुने उल्लेख गर्दै जनसंगठनको पुनर्गठन, सदस्यता विस्तार र संगठनको अभिलेख व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए।
यस क्रममा केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेखीकरणको काम छिटो पूरा गर्न तथा नयाँ सदस्यता वितरणलाई गति दिन उनले पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
कामका आधारमा मूल्याङ्कन हुने
ओलीले पार्टीका नेता तथा कार्यकर्ताको मूल्याङ्कन अब केवल ज्येष्ठताका आधारमा नभई उनीहरूले संगठनका लागि गरेको काम र प्रदर्शनका आधारमा गरिने बताएका छन्।
नेताहरूले आफ्नो कार्यक्षेत्रमा नियमित रूपमा पुगेर संगठनको अवस्था बुझ्नुपर्ने र राजधानीमा मात्र केन्द्रित भएर जिम्मेवारी पूरा नहुने उनको भनाइ थियो।
कार्यकर्तामाझ पुगेर संगठन विस्तार, सदस्यता वृद्धि तथा स्थानीय स्तरका समस्याबारे योजना बनाउन उनले निर्देशन दिए।
उनले नेता–कार्यकर्तालाई व्यवहारमा शालीनता र विनम्रता अपनाउन तथा पार्टीको नीति र उद्देश्यबारे जनतामाझ स्पष्ट रूपमा प्रस्तुत हुन पनि आग्रह गरे।
पार्टी एकताको चर्चाप्रति ओलीको धारणा
अन्य राजनीतिक दलसँग तत्काल पार्टी एकता गर्ने विषयमा अनावश्यक चर्चा गर्नु उपयुक्त नहुने ओलीले बताएका छन्।
उनका अनुसार आवश्यकता र परिस्थितिअनुसार चुनावी सहकार्य वा निश्चित विषयमा कार्यगत एकता हुन सक्ने भए पनि पार्टी एकताको विषयलाई प्राथमिकता दिएर संगठनको मुख्य कामबाट विचलित हुन नहुनेमा नेतृत्वले जोड दिएको छ।
कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायत नेताहरू सहभागी थिए।
भर्चुअल कार्यक्रमको सञ्चालन महासचिव शंकर पोखरेलले गरेका थिए।
