कञ्चनपुर । दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको कारण पत्ता लगाउन प्राविधिक अध्ययन सुरु गरिएको छ।
मंगलबार बिहान पुलको एउटा स्पान र बीच भागमा रहेको टावर नदीमा खसेपछि पुलबाट हुने आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। पुलको संरचना जोखिमपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरी सर्वसाधारणको आवागमन रोकिएको हो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गर्दै प्राविधिक टोलीमार्फत घटनाको कारण पत्ता लगाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार बिहान पुल असन्तुलित भएको सूचना प्राप्त भएपछि तत्काल सुरक्षाकर्मीलाई परिचालन गरी पुलमा आवतजावत रोकिएको थियो। त्यसको केही समयपछि करिब ८ बजेतिर पुलको एक भाग महाकाली नदीमा खसेको थियो।
प्रजिअ कोइरालाले पुलको एउटा स्पान र बीचको टावर नै नदीमा खसेकाले हाल पैदल हिँड्नसमेत सकिने अवस्था नरहेको बताए।
पुलको क्षतिको प्राविधिक कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार निर्देशनालयबाट प्राविधिक टोली बोलाइएको छ। उक्त टोलीले पुलको स्थलगत निरीक्षण गरी संरचना कसरी क्षतिग्रस्त भयो भन्नेबारे अध्ययन गर्नेछ।
प्राविधिक अध्ययनको प्रतिवेदन प्राप्त भएपछि पुल मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।
प्रजिअ कोइरालाका अनुसार क्षति प्रदेश सरकारको अधिकार क्षेत्र र उपलब्ध प्राविधिक क्षमताभित्रबाट समाधान गर्न सकिने भए प्रदेश सरकारकै समन्वयमा मर्मतको काम अघि बढाइनेछ। तर प्रदेश तहबाट समाधान गर्न नसकिने अवस्था देखिए संघीय सरकार तथा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर पुनःस्थापनाको काम अघि बढाइनेछ।
उनले पुललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने उद्देश्यले प्राविधिक अध्ययनसँगै आवश्यक समन्वयको काम पनि सुरु गरिने बताए।
पुलको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई घटनास्थलमा पुगेर पुल हेर्न, फोटो खिच्न वा भिडियो बनाउन समेत नजान प्रशासनले आग्रह गरेको छ।
प्रशासनका अनुसार प्राविधिक टोलीको प्रतिवेदन आएपछि सम्बन्धित निकायसँग समन्वय गरी पुलको मर्मत तथा पुनः सञ्चालनको प्रक्रिया अगाडि बढाइनेछ।
महाकाली नदीमाथिको उक्त झोलुङ्गे पुल दोधारा–चाँदनी क्षेत्र र भीमदत्तनगरबीच आवतजावतका लागि महत्वपूर्ण संरचना भएकाले पुल अवरुद्ध हुँदा स्थानीयको दैनिक आवागमनमा प्रत्यक्ष असर परेको छ।
