प्यूठान । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत प्यूठानका दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ।
क्षेत्र नम्बर (क) को सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन्। बुधबार सम्पन्न मतगणनामा शाहले २६८ मत प्राप्त गर्दै सभापतिको जिम्मेवारी हात पारेका हुन्।
शाहका प्रतिस्पर्धी दुर्गबहादुर बुढाथोकीले ११४ मत प्राप्त गरे भने अर्का उम्मेदवार नेत्रमणि पोखरेलले ७३ मत पाएका छन्।
निर्वाचन समितिका अनुसार कुल ४६८ मत खसेको थियो। त्यसमध्ये १३ मत बदर भएको जनाइएको छ।
यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) को सभापतिमा चन्द्रलाल न्यौपाने निर्विरोध चयन भएका छन्। सो क्षेत्रमा सभापति पदका लागि प्रतिस्पर्धा नभएपछि न्यौपाने सर्वसम्मत रूपमा नेतृत्वमा आएका हुन्।
क्षेत्रीय अधिवेशनमार्फत दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएसँगै प्यूठान कांग्रेसको महाधिवेशनसम्बन्धी संगठनात्मक प्रक्रिया अघि बढेको छ।
