काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशव्यापी पालिका केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरूलाई समेटेर तयार पारिएको टोली असोज २० गतेदेखि देशका विभिन्न स्थानीय तहमा पुग्ने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने रास्वपाले जनाएको छ। संघीय संसद्को चालु अधिवेशन सम्पन्न भएपछि अभियान सुरु गरिने बताइएको छ।
रास्वपाकी सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानमार्फत नागरिकका गुनासा र सुझाव सुन्नुका साथै पार्टीका नीति, योजना तथा आगामी राजनीतिक कार्यक्रमबारे पनि जानकारी गराइनेछ।
उनका अनुसार अभियानका मुख्य दुई पक्ष छन्। पहिलो, स्थानीय तहको कामकारबाही र आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने पार्टीको प्रक्रियाबारे नागरिकलाई जानकारी गराउनु हो। दोस्रो, वर्तमान सरकार गठन भएपछि संसद् र सरकारमार्फत भएका नीतिगत तथा अन्य पहलका विषयमा जनतालाई जानकारी दिनु हो।
स्थानीय सरकार नागरिकको दैनिक जीवन र विकास निर्माणसँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नेतृत्व छनोटको प्रक्रिया पारदर्शी र लोकतान्त्रिक हुनुपर्नेमा रास्वपाले जोड दिएको छ।
आगामी स्थानीय तह निर्वाचनका लागि सक्षम र जिम्मेवार व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने प्रक्रियाबारे पनि अभियानमार्फत जानकारी गराउने पार्टीको तयारी छ। रास्वपाले यसअघि उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ लगायतका अवधारणा तथा लोकतान्त्रिक छनोट प्रक्रियाको प्रस्ताव अघि सारेको थियो।
सरकारका कामबारे पनि जानकारी दिइने
रास्वपाले सरकार गठन भएको करिब छ महिनाको अवधिमा भएका काम तथा नीतिगत निर्णयबारे पनि नागरिकलाई जानकारी गराउने जनाएको छ।
संसद् र सरकारमार्फत अघि बढाइएका पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे पार्टीका प्रतिनिधिले स्थानीयस्तरमा जानकारी दिने बताइएको छ।
रास्वपाका अनुसार अभियानअन्तर्गत सांसद तथा केन्द्रीय सदस्यहरू देशका ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्नेछन्।
पार्टीकी सहमहामन्त्री डाँगीले अभियानलाई निर्वाचनको तयारीमा मात्र सीमित नराखी स्थानीय सरकारलाई नागरिकप्रति थप उत्तरदायी बनाउने र स्थानीय नेतृत्व चयनमा जनसहभागिता बढाउने उद्देश्य रहेको बताएकी छन्।
