ओमानका लागि नेपाली राजदूतमा प्रस्तावित पदमाक्षी राणाले आफ्नो कार्यकालमा श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले ओमानमा रहेका नेपाली श्रमिकको समस्या समाधान र उनीहरूको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताएकी हुन्। राणाले श्रमिकहरूको अवस्था सुधारका लागि आफूले ‘एम्प्याथी’ (समानुभूति) सहितको कूटनीति अवलम्बन गर्ने स्पष्ट पारेकी छन्।
उनले ओमानमा नेपाली श्रमिकका लागि हाल सञ्चालित २४ सै घण्टाको हटलाइन सेवालाई निरन्तरता दिने र समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि थप सक्रिय हुने विश्वास व्यक्त गरेकी छन्। आफ्नो कार्ययोजनाको मुख्य हिस्साका रूपमा उनले उद्यमशीलता र लगानी प्रवर्द्धनलाई अघि सारेकी छन्। उद्यमशीलताको क्षेत्रमा लामो अनुभव सँगालेकी राणाले नेपालको रैथाने उत्पादन र प्रविधिलाई ओमानको बजारमा पुर्याउन ‘भ्यालु क्रिएसन डिप्लोमेसी’ (मूल्य सिर्जना गर्ने कूटनीति) आवश्यक रहेको औँल्याएकी छन्।
उनले ओमानको विकास रणनीति ‘भिजन २०४०’ सँग तालमेल गर्दै दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउने कार्ययोजना प्रस्तुत गरेकी छन्। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नीति निर्माणको तहमा आफू नयाँ भए पनि अनुसन्धान र फिल्ड अनुभवका आधारमा नीतिगत सुधार गर्न सक्षम रहेको दाबी गरेकी छन्। विशेष गरी महिला घरेलु कामदारहरूको सुरक्षा र उनीहरूको राहदानी जफत हुनेजस्ता गम्भीर समस्या समाधानका लागि स्थानीय ओमानी निकाय र नेपाल सरकारबीच समन्वय गरी ठोस कदम चाल्ने उनको योजना छ। आफ्नो सयदिने कार्ययोजनामा उनले हवाई कनेक्टिभिटी, श्रम सम्झौताको पुनरावलोकन र प्लास्टिक फोहोर व्यवस्थापनजस्ता प्राविधिक क्षेत्रमा समेत सहकार्यको ढोका खोल्ने लक्ष्य राखेको बताएकी छन्।
