रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिब ९९ प्रतिशत स्थानमा विद्युत् सेवा सुचारु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार अब रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत् जडान हुन बाँकी रहेको छ। उनले उक्त क्षेत्रमा विद्युत् जडान गर्न प्रसारण लाइनसमेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत् सेवा सुचारु गर्न कठिन भएको बताए। उक्त क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जाको व्यवस्था गरिएको सचिव कर्माचार्यले बताए।
उनले बाढीले क्षतिग्रस्त भएका जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि कार्ययोजना निर्माणको काम भइरहेको समेत बताए। उनले बाढीले निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा ठूलो क्षति भएको विवरणसमेत समितिसमक्ष पेस गरे।
उनले भने, ‘बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिब ९९ प्रतिशत क्षेत्रमा विद्युत् सुचारु भइसकेको छ। अहिले रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत् जडानको कार्य बाँकी छ। त्यहाँ नजिकै प्रसारण लाइनहरू समेत बनाउनुपर्ने भएकाले तत्काल सम्भव देखिएको छैन। त्यो क्षेत्रका लागि हामीले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सोलारको माध्यमबाट व्यवस्था गरेका छौँ। विद्युत् आयोजनाको सुरुङमा हाम्रा ९९० जनाभन्दा बढी बेपत्ता भएका छन्। राज्यले अथक प्रयास गर्दा पनि जम्मा तीन जनाको मात्रै उद्धार गर्न सक्यो। बाँकी कोही पनि भेटिने सम्भावना कम हुँदै गएको छ। अब हामीले ऊर्जा क्षेत्रको पुनर्संरचनाका लागि एउटा कार्ययोजना नै बनाउनुपर्नेछ।’
उनले आगामी दिनमा नदी करिडोरका आयोजनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए।
