२८ असोज, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार बिहान हेटौंडा–८ को गुम्बाचोक नजिकै ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ग.१ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–९, एचआईडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रकका चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
