२९ असोज, गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएपछि उक्त क्षेत्रमा रहेका नागरिक आवतजावत गर्न नसकी फसेका थिए। उनीहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर गरिएको शर्माले बताए।
उनका अनुसार बाढी आएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। सोमबार ३२१, मङ्गलबार १८६ र बुधबार ४४१ जनालाई सुरक्षित स्थानमा सारिएको हो।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिइएको छ। सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको शर्माले बताए।
बाढीले सडक सञ्जालका साथै पदमार्गसमेत कटान गरेपछि उद्धार र राहतका लागि हेलिकोप्टरमा निर्भर हुनुपरेको उनको भनाइ छ। हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने र फर्किँदा त्यहाँ फसेका नागरिकलाई उद्धार गरेर ल्याउने काम भइरहेको उनले जानकारी दिए।
बाढी प्रतिकार्यमा रेडक्रस सक्रिय
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न प्रतिकार्यका गतिविधि तीव्र बनाएको छ।
रेडक्रसका महामन्त्री ऋषि खनालका अनुसार बाढीबाट भएको क्षतिको आकलन गर्नुका साथै तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउन स्वयंसेवक परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा गैरखाद्य सामग्री पुर्याउने कामसमेत भइरहेको उनले बताए।
बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपुरका पूर्वी र पश्चिमी क्षेत्रमा रहेका रेडक्रस स्वयंसेवकलाई परिचालन गरिएको खनालले जानकारी दिए। उनीहरूले पूर्वसूचना प्रवाह गर्नुका साथै प्रतिकार्यका गतिविधि सञ्चालन गरिरहेका छन्।
बाढी प्रभावित क्षेत्रमा आवश्यक गैरखाद्य तथा अन्य राहत सामग्री पठाउने क्रम जारी रहेको रेडक्रसले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र डिग्निटी किटलगायत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको खनालले बताए।
उनका अनुसार अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पठाइसकिएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत अध्ययन गर्न विज्ञ जनशक्ति पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सरकारसँगको समन्वयमा थप आवश्यक गैरखाद्य सामग्री पठाउने तयारी भइरहेको उल्लेख गर्दै खनालले प्रभावित नागरिकलाई मानवीय सहायता उपलब्ध गराउन रेडक्रसका स्वयंसेवक सक्रिय रहेको बताए।
