२९ असोज, काठमाडौं । सार्वजनिक यातायातका यात्रुलाई लक्षित गरी धादिङका राजमार्ग आसपास सञ्चालित होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता अनुगमन र स्तर निर्धारण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले थाक्रे, धुनिबेसी र गल्छी क्षेत्रका १७ वटा होटल तथा रेस्टुरेन्टको निरीक्षण गरेको हो।
राजमार्गका होटलमा सरसफाइको कमी, बासी तथा झिँगा भन्किएका खाना बिक्री हुने र अस्वाभाविक रूपमा महँगो मूल्य लिइने गरेको गुनासो बढेपछि विभागले अनुगमन गरेको जनाएको छ।
विभागको टोलीले गरेको मूल्याङ्कनमा दुईवटा होटल तथा रेस्टुरेन्टले मात्रै ‘उत्तम’ स्तर हासिल गरेका छन्। गल्छी गाउँपालिका–४ स्थित ट्रिपल क्राउन रिसोर्ट प्रालि र धुनिबेसी नगरपालिका–१ मा रहेको ट्रान्जिट हाउस रेस्टुरेन्ट प्रालिले ‘दुई तारा सहितको हरियो स्टिकर (बी)’ प्राप्त गरेका छन्।
त्यस्तै, थाक्रे गाउँपालिका–२ स्थित न्यू काष्ठमण्डप होटलले ‘सन्तोषजनक’ स्तर हासिल गर्दै ‘एक तारा सहितको हरियो स्टिकर (सी)’ पाएको छ।
अनुगमनमा परेका अन्य १४ वटा होटल तथा रेस्टुरेन्टको अवस्था भने ‘सामान्य’ रहेको पाइएको छ। ती सबैलाई विभागले ‘पहेँलो स्टिकर (डी)’ प्रदान गरेको छ।
पहेँलो स्टिकर पाउने होटलमध्ये थाक्रे गाउँपालिका–१ का होटल न्यू नमस्ते नेपाल एन्ड कोल्ड स्टोर, कान्तिपुर होटल एन्ड लज र न्यू पाथीभरा होटल छन्। त्यसैगरी, थाक्रे–२ स्थित होटल सयपत्री, थाक्रे–६ का दिवासी कोल्ड स्टोर र श्री अन्नपूर्ण होटल तथा थाक्रे–८ का रिया होटल र न्यू सुपा देउराली होटल पनि सामान्य स्तरमा परेका छन्।
धुनिबेसी क्षेत्रका होटल तथा रेस्टुरेन्टमध्ये धुनिबेसी–६ को थकाली भान्सा घर, धुनिबेसी–१ का हाईवे ब्रेक पोइन्ट कोल्ड स्टोर, हाईवे किङ्ग फास्टफुड एन्ड रेस्टुरेन्ट र न्यू पाण्डे खाजा घर एन्ड लजले पनि पहेँलो स्टिकर पाएका छन्। धुनिबेसीमै रहेको न्यू आँधी खोला होटलको अवस्था पनि सामान्य रहेको विभागले जनाएको छ।
यस्तै, गल्छी गाउँपालिका–६ स्थित जुनतारा रेस्टुरेन्ट एन्ड लजले समेत सामान्य स्तरको पहेँलो स्टिकर प्राप्त गरेको छ।
राजमार्गका होटलमा यात्रु ठगिने र अस्वस्थकर खाना खानुपर्ने अवस्था रहेको गुनासो बढिरहेका बेला गरिएको अनुगमन तथा स्तर निर्धारणले खाद्य स्वच्छता र गुणस्तर सुधारमा सहयोग पुग्ने विभागको विश्वास छ।
