२९ असोज, चितवन । नारायणी नदी किनारमा खुट्टा धुने क्रममा एक महिला र उनका ६ वर्षीय छोरा डुबेर बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नदी किनारमा पुगेका उनीहरू बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा खैरहनी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१२, मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल रहेका छन्।
उनीहरूसँगै रहेकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी बालिकाको उद्धार गरेको हो। नदीमा बेपत्ता आमा सिर्जना र छोरा प्रशिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
