२९ असोज, काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम साउन महिनामा प्राप्त रेमिट्यान्सभन्दा ६ अर्ब रुपैयाँ बढी हो। साउनमा २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
नेपालमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको थियो।
अमेरिकी डलरमा गणना गर्दा चालु आर्थिक वर्षको भदौसम्म रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि २७.६ प्रतिशत रहेको थियो।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो।
वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको भदौसम्म अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ। यसै अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९० हजार १९८ थियो भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको थियो।
