नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ।
क्यानका सचिव पारस खड्काका अनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै क्यानका सचिव खड्काले एनपीएललाई निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस प्रविधि भित्र्याउने गृहकार्य भइरहेको जानकारी दिएका छन्। यद्यपि, यसको आधिकारिक निर्णय भने प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उनले स्पष्ट पारेका छन्।
डीआरएस लागू गर्दा म्याचको समय आधा घण्टासम्म लम्बिन सक्ने भएकाले प्रतियोगिताको खेल तालिकामा केही हेरफेर हुन सक्ने खड्काले बताएका छन्। हाल निर्धारित कार्यतालिकाअनुसार खेल दिउँसो साढे ४ बजे सुरु गर्ने योजना रहे पनि डबल हेडर (एकै दिन दुई खेल हुने) दिनहरूमा समय व्यवस्थापनका लागि केही फेरबदल गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका छन्। म्याच सकिने समय बेलुका सवा ७ देखि साढे ७ बजेसम्म अनुमान गरिएकोमा डीआरएसका कारण ८ देखि सवा ८ बजेसम्म पुग्न सक्ने आकलन गरिएको छ।
चिसो मौसम र शीत (ड्यू) को प्रभावलाई समेत दृष्टिगत गर्दै खेल केही छिटो सुरु गर्ने विकल्पमा पनि छलफल भइरहेको छ। डीआरएस प्रविधि जडानका लागि लाग्ने करिब डेढदेखि दुई करोड रुपैयाँ खर्चको व्यवस्थापन क्यान र सहभागी आठवटै फ्रान्चाइजी टोलीहरूले संयुक्त रूपमा वहन गर्ने योजना छ। कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँडको हिस्साबाट यो खर्च समायोजन गरिनेछ। जसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काले बताएका छन्।
क्रिकेट समर्थक, सहभागी टोली र समग्र नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो प्रविधि अत्यावश्यक रहेको उल्लेख गर्दै क्यानले प्रक्रिया टुंगो लागेपछि सबै विवरण सार्वजनिक गर्ने जनाएको छ।
