भारतीय फिल्म उद्योगसँग सम्बन्धित ठूलो डेटा चुहावटको घटना सार्वजनिक भएको छ । भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) को अनलाइन पोर्टलबाट ५०० भन्दा बढी फिल्मसँग सम्बन्धित कागजात बाहिरिएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार लिक भएका दस्तावेजमा फिल्मका पटकथा, सर्टिफिकेसनसम्बन्धी विवरण, व्यावसायिक सम्झौता तथा वितरणसँग सम्बन्धित जानकारी समावेश छन् । यीमध्ये केही कागजात इन्टरनेट अर्काइभमा डाउनलोड गर्न सकिने गरी उपलब्ध गराइएको बताइएको छ ।
सीबीएफसीले फिल्मको प्रमाणीकरण प्रक्रिया सञ्चालन गर्न प्रयोग गर्ने ‘ई–सिनेप्रमाण’ पोर्टलमा रहेका दस्तावेजमा अनधिकृत पहुँच पुगेको आशंका गरिएको छ । यद्यपि, डेटा कसरी बाहिरियो र यसको प्रभाव कति व्यापक छ भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
लिक भएका सामग्रीमा फिल्मसम्बन्धी निर्देशन, कारोबारका सम्झौता, वितरणका सर्त तथा प्रमाणपत्र जारी गर्दा लाग्ने शुल्कको विवरणसमेत रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
यस्ता गोप्य व्यावसायिक कागजात सार्वजनिक हुँदा फिल्म निर्माता, वितरक तथा अन्य सम्बन्धित पक्षका व्यावसायिक वार्ता र सम्झौतामा असर पर्न सक्ने आकलन गरिएको छ ।
घटनाबारे सीबीएफसीले अनुसन्धान अघि बढाएको छ । साथै, यस विषयमा भारतीय साइबर सुरक्षा निकायलाई समेत जानकारी गराइएको बताइएको छ । अनुसन्धानबाट डेटा चुहावटको कारण, प्रभावित कागजातको वास्तविक संख्या र जिम्मेवार पक्षबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।
