राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको समापनसँगै मनाइने कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जिल्ला सुरक्षा समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले स्वागत गरेका थिए।
मन्दिर परिसरमा आयोजित पूजाअर्चनाका क्रममा परम्परागत नृत्यसमेत प्रस्तुत गरिएको थियो। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकन तथा दर्शन गर्नुका साथै पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए।
भक्तपुरको नवदुर्गा परम्परामा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नौ देवीको पूजा गरिन्छ।
सो अवसरमा मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद प्रदान गरेका थिए।
बडादसैँको अन्तिम दिन राष्ट्रप्रमुखले भक्तपुरको नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहँदै आएको छ।
