९ कात्तिक, काठमाडौं। बर्दियाको राजापुरमा छोराले कुटपिट गर्दा बाबुको मृत्यु भएको छ। राजापुर नगरपालिका–३ निवासी ५५ वर्षीय कालुराम थारुको आइतबार राति भएको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार कालुरामलाई उनका छोरा राजेन्द्रले राति करिब ११ बजे कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उनलाई सुरुमा स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगञ्ज पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राजेन्द्रलाई सोही राति नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
