स्वर्णिम वाग्ले र बाबुराम भट्टराईलाई लक्षित गर्दै रामकुमारी झाँक्रीको प्रश्न : ‘के हामी लम्पसारवादीबाट शासित हुन अभिशप्त छौँ?’
काठमाडौँ, ९ कात्तिक। नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वाभिमानको विषय उठाएकी छन्।
भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै झाँक्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले वाग्लेको अभिव्यक्तिले राष्ट्रिय आत्मविश्वास र नेपाली स्वाभिमानबारे बहस आवश्यक बनाएको आशय व्यक्त गरेकी छन्।
झाँक्रीले भट्टराईको विगतको राजनीतिक भूमिकामाथि पनि प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भट्टराईको कार्यशैली र संविधान जारी भएपछि देखिएको उनको भूमिकाबारे विभिन्न प्रश्न उठाएकी हुन्। यस क्रममा उनले केही घटनालाई लिएर सार्वजनिक रूपमा भइरहेका व्याख्या र षड्यन्त्रसम्बन्धी दाबीको प्रसङ्गसमेत उल्लेख गरेकी छन्।
त्यसैगरी, वाग्लेको अभिव्यक्तिलाई लक्षित गर्दै झाँक्रीले नेपाली स्वाभिमान र राष्ट्रिय आत्मविश्वास कमजोर पार्ने खालका धारणा सार्वजनिक भइरहेको आरोप लगाएकी छन्। सम्बन्धित नेताहरूको विगतका अभिव्यक्ति र गतिविधिको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
राजनीतिमा राष्ट्रिय स्वाभिमानको विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै झाँक्रीले नेपाली नागरिकले यस्ता प्रवृत्तिलाई स्वीकार गरिरहनुपर्ने हो कि होइन भन्ने प्रश्नसमेत उठाएकी छन्। उनले राष्ट्रिय आत्मविश्वास कमजोर पार्ने अभिव्यक्तिप्रति नागरिकले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने आशय व्यक्त गरेकी छन्।
