साइबर सुरक्षा कमजोरीपछि सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा
काठमाडौँ। केही दिनदेखि अवरुद्ध नेपालका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू क्रमशः पुनः सञ्चालनमा आउन थालेका छन्। ‘पीएचपी’ प्रविधिमा देखिएको सुरक्षा जोखिम समाधान गर्न आवश्यक प्राविधिक काम पूरा भएसँगै सेवा बहाली सुरु भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा कमजोरीसँग सम्बन्धित प्याच जडान, परीक्षण र प्रमाणीकरणको काम सम्पन्न भएपछि प्रभावित सेवाहरू सञ्चालनमा ल्याइएको हो।
केन्द्रका अनुसार हालसम्म एक हजारभन्दा बढी डोमेन पुनःस्थापना भइसकेका छन् र ती सामान्य रूपमा सञ्चालन भइरहेका छन्। अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वेबसाइट तथा अनलाइन सेवासमेत पुनः सञ्चालनमा आएका छन्।
अझै सञ्चालनमा आउन बाँकी रहेका वेबसाइट तथा सेवाहरूलाई पनि पूर्ण रूपमा बहाल गर्न प्राविधिक टोलीले काम गरिरहेको केन्द्रले जनाएको छ।
