ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’
ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ बाट प्रदान गरिने सन् २०२६ को ‘बेष्ट बैंक अवार्ड’ प्राप्त गरेको छ। यो उपलब्धिसँगै बैंकले लगातार तेस्रो वर्ष उक्त सम्मान हासिल गरेको हो। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधाको पुरस्कार पाएको थियो।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष कार्यक्रममा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई पुरस्कार प्रदान गरेका थिए।
बैंकका अनुसार वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल सेवाको विस्तार, रणनीतिक साझेदारी र ग्राहककेन्द्रित नवप्रवर्तनलाई पुरस्कार छनोटका आधार बनाइएको थियो। त्यसैगरी, आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोग, दिगो कर्जा प्रवाह र प्रभावकारी जोखिम व्यवस्थापनमा बैंकले देखाएको कार्यसम्पादनलाई पनि मूल्याङ्कन गरिएको जनाइएको छ।
उक्त समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थाहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित संस्थामा चीनको बैंक अफ चाइना र आइसीबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक तथा जापानको एमयूएफजी बैंकलगायत रहेका थिए।
ग्लोबल आइएमई बैंकले यस उपलब्धिले ग्राहकलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिलेको जनाएको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरेको छ।
ग्लोबल फाइनान्सको उक्त सम्मान पाउने पहिलो नेपाली बैंक ग्लोबल आइएमई बैंक भएको दाबी गरिएको छ। यस पत्रिकाले विश्वका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूको कार्यसम्पादनका आधारमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको छ।
बैंकले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मान प्राप्त गरिसकेको छ। सन् २०१४ मा ‘बैंक अफ द इयर’ र सन् २०१६ मा ‘बेष्ट इन्टरनेट बैंक’ को उपाधि पाएको बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को सम्मान प्राप्त गरेको जनाएको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका पुरस्कार पनि बैंकले पाएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो सेवा सञ्जाल देशका ७७ वटै जिल्लामा विस्तार गरेको छ। बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र र ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर सञ्चालनमा छन्। विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा उपलब्ध गराइँदै आएको बैंकले जनाएको छ।
यसका अतिरिक्त, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। यसले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई सहज बनाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको बैंकको भनाइ छ।
#GlobalIMEBank #BestBankAward2026 #BankingNews #NepalEconomy #DreamNewsNetwork
