काठमाडौं । काठमाडौंको बबरमहलमा निर्माण भइरहेको आकासे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि खुला गरिने भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेपछि सडक डिभिजन कार्यालय काठमाडौंले पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो।
बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको आवागमनलाई ध्यानमा राखेर उक्त पुल निर्माण गरिएको हो। पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सडक वारपार गर्न सहज हुने र सम्भावित सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोध देवकोटाका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। उनले यसै हप्ताभित्र पुल पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।
उक्त पुल निर्माणका लागि २०८२ साल फागुन २१ गते सम्झौता भएको थियो। पुल निर्माणको लागत दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ निर्धारण गरिएको छ। निर्माणको जिम्मेवारी हेटौंडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।
