पत्नी सुनितासँगको सम्बन्धबारे गोविन्दाको प्रतिक्रिया, भने– हिन्दु संस्कृतिमा सम्बन्धविच्छेदको स्थान छैन
मुम्बई । बलिउड अभिनेता गोविन्दाले पत्नी सुनिता आहूजासँगको सम्बन्ध र सम्बन्धविच्छेदको चर्चाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले हिन्दु संस्कृतिमा सम्बन्धविच्छेदको अवधारणाबारे टिप्पणी गर्दै वैवाहिक सम्बन्धप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन्।
सुनिताले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको विषय चर्चामा रहेका बेला गोविन्दाले एबीपी न्युजसँगको कुराकानीमा आफ्नो व्यक्तिगत जीवनबारे प्रतिक्रिया दिएका हुन्। यद्यपि, उनले पत्नीले लगाएका आरोप र उनीहरूको सम्बन्धसँग जोडिएका सबै प्रश्नको प्रत्यक्ष जवाफ दिन भने चाहेनन्।
आफूले कसैलाई पनि सार्वजनिक रूपमा अप्ठ्यारोमा पार्न नचाहने उल्लेख गर्दै गोविन्दाले जीवनमा कठिन परिस्थितिको सामना गर्दा धैर्य राख्नुपर्ने धारणा व्यक्त गरे। व्यक्तिगत सम्बन्धका केही विषय गोप्य नै राख्नुपर्ने उनको भनाइ थियो।
सुनिताले विगतमा उनका अन्य सम्बन्धबारे सकारात्मक टिप्पणी गर्ने गरेको भए पनि अहिले गम्भीर आरोप किन लगाइरहेकी छन् भन्ने प्रश्नमा गोविन्दाले सबै कुरा सार्वजनिक गर्न उपयुक्त नहुने बताए। कसैको प्रतिष्ठा र सम्मानमा असर पर्ने गरी व्यक्तिगत विषय बाहिर ल्याउन आफू इच्छुक नरहेको उनको भनाइ थियो।
सम्बन्धविच्छेदको निवेदन आपसी सहमतिमा फिर्ता लिइएको हो वा कुनै दबाबका कारण भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन्। बरु उनले आफूहरू हिन्दु भएको उल्लेख गर्दै आफ्नो संस्कृतिमा सम्बन्धविच्छेदसम्बन्धी धारणाबारे टिप्पणी गरे।
अभिनेत्रीहरूसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा गोविन्दाले उनीहरूसँगको कुराकानी सामान्य अभिवादन र सञ्चोबिसञ्चोमा सीमित रहेको बताए। आफूलाई सुन्दरी अभिनेत्रीहरूसँग जोडेर गरिएका टिप्पणीको जवाफ उनले ठट्टा गर्दै दिएका थिए।
त्यस्तै, पार्टीहरूमा सहभागी नभएकोमा पछुतो लागेको हो कि भन्ने प्रश्नमा पनि उनले हास्य शैलीमा प्रतिक्रिया दिए। तर, लगत्तै आफूले मजाक गरेको स्पष्ट पारे।
गोविन्दाले प्रसिद्धिसँगै आलोचना र शंका पनि जोडिएर आउने उल्लेख गरे। आफ्नो नाम र बदनामी लामो समयदेखि सँगसँगै अघि बढिरहेको बताउँदै उनले विगतमा पनि केही कठिन परिस्थितिको अनुमान गरेको दाबी गरे।
व्यक्तिगत सम्बन्धमा तितोपन बढाउनेभन्दा संयम अपनाउनु उचित हुने धारणा राख्दै उनले कसैलाई अपमान गरेर जवाफ दिने आफ्नो स्वभाव नभएको बताए।
सुनितासँगको सम्बन्धबारे चर्चा भइरहेका बेला गोविन्दाले पत्नीप्रति सकारात्मक धारणा पनि व्यक्त गरे। सुनिता आफ्नो घरमा आएपछि जीवनमा पछाडि फर्केर हेर्नु नपरेको उल्लेख गर्दै उनले उनीप्रति सम्मानजनक टिप्पणी गरेका हुन्।
