सङ्घीय संसद्मा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा मात्रै २४ वटा विधेयक छलफल तथा प्रक्रियाका क्रममा छन्।
प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबैभन्दा बढी पाँचवटा विधेयक विचाराधीन छन्। अर्थ समितिमा चारवटा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीनवटा विधेयक रहेका छन्।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिमा दुई–दुईवटा विधेयक विचाराधीन छन्। कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक छलफलका क्रममा रहेको सचिवालयले जनाएको छ।
विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फर्छ्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायत छन्।
संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन्। यद्यपि, प्रतिनिधि सभाबाट पारित राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको उनले जानकारी दिए।
यसैबीच, संसद् अधिवेशन अन्त्य भएपछि थप छवटा विधेयक दर्ता भएका छन्। यससँगै नयाँ दर्ता भएका विधेयकको सङ्ख्या सात पुगेको छ।
