देउवा पक्षलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन सकेनौँ : महामन्त्री पौडेल
आगामी स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र पूर्ण एकता कायम गर्न नसकिएको स्वीकार गर्दै असन्तुष्ट पक्षलाई समेट्न आफूहरूले निरन्तर प्रयास गरे पनि अपेक्षित सफलता प्राप्त नभएको बताएका छन्।
नेपाली कांग्रेस म्याग्दे गाउँकार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले १५औँ महाधिवेशन सम्पन्न भए पनि पार्टीभित्रको एकता पूर्ण रूपमा स्थापित हुन नसकेको बताए। विशेषगरी शेरबहादुर देउवा पक्षलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन विभिन्न प्रयास गरिएको उनको भनाइ थियो।
पौडेलले विशेष महाधिवेशनको औचित्य स्पष्ट पार्दै महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको मागसहित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएको स्मरण गरे। त्यस समयमा केन्द्रीय कार्यसमितिको बैठक जारी रहे पनि उक्त मागमाथि छलफल नभएको उनले बताए।
उनका अनुसार पार्टीको विधानमा महाधिवेशनलाई सर्वोच्च निकायका रूपमा व्यवस्था गरिएको छ। केन्द्रीय कार्यसमितिले प्रतिनिधिहरूको माग सम्बोधन नगरेपछि वैधानिक प्रक्रियाअनुसार विशेष महाधिवेशन अघि बढाइएको उनले स्पष्ट पारे।
अन्य राजनीतिक दलले लामो समयसम्म महाधिवेशन नगरेको उदाहरण दिँदै पौडेलले कांग्रेसले नौ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उल्लेख गरे।
पार्टीभित्र सहमतिको वातावरण बनाउन सदस्यता अद्यावधिक प्रक्रिया स्थगित गर्ने र नवीकरण भएका सदस्यलाई महाधिवेशनमा सहभागी हुने अवसर दिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
देउवा नेतृत्वको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई नयाँ कार्यसमितिमा समेट्ने प्रस्तावसमेत राखिएको उनले बताए। तर, सहमतिका लागि गरिएका प्रयास सफल हुन नसकेको उनको भनाइ थियो।
पौडेलले सबै पक्षलाई सहभागी गराउने उद्देश्यले वडा अधिवेशनसमेत चार पटकसम्म सारिएको बताए। उनका अनुसार सभापति देउवाले आफू आयोजक समितिको संयोजक बन्न आवश्यक नरहेको र अन्य नेतामध्येबाट संयोजक चयन गर्न सकिने धारणा राखेका थिए। यति प्रयास गर्दा पनि सबै पक्षलाई एउटै प्रक्रियामा ल्याउन नसकिएको उनले उल्लेख गरे।
महामन्त्री पौडेलले अब पार्टीका आन्तरिक विषयमा मात्रै केन्द्रित नभई राष्ट्रिय जिम्मेवारी पूरा गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए। कांग्रेसले जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
यसैबीच, पौडेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा कांग्रेसले अन्य दलसँग गठबन्धन नगर्ने स्पष्ट पारे। पार्टी आफ्नै संगठन र जनतासँगको सम्बन्ध बलियो बनाउँदै निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनको धारणा थियो।
