जनताको विश्वास जित्न घरदैलोमा पुग्नुपर्छ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति कमजोर बनेको जनविश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्तालाई जनताको घरदैलोसम्म पुग्न आग्रह गरेका छन्।
स्याङ्जाको पुतलीबजारमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसको मुख्य चुनौती मतदाता गुमाउनु मात्र नभई जनताको भरोसा कमजोर हुनु रहेको बताए। जनविश्वास फर्काउन सके मत पनि पुनः प्राप्त हुने उनको धारणा थियो।
उनले पार्टीसँग असन्तुष्ट भएर टाढिएका मतदातासँग प्रत्यक्ष संवाद गर्न, उनीहरूका गुनासा सुन्न र पार्टीमा भएका परिवर्तनबारे जानकारी गराउनुपर्नेमा जोड दिए। यसका लागि वडा तहदेखि केन्द्रीय नेतृत्वसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर अभियानमा लाग्नुपर्ने उनले बताए।
कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टीमा भएका परिवर्तन जनतासमक्ष पुर्याउने उद्देश्यले आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको सभापति थापाले जानकारी दिए।
महाधिवेशनलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धाका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले पद तथा जिम्मेवारी प्राप्त गर्ने वा नगर्ने विषयलाई व्यक्तिगत हारजितका रूपमा बुझ्न नहुने बताए। पार्टीका सबै नेता तथा कार्यकर्ता समान महत्त्वका भएकाले आपसी एकता कायम गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
