नेकपाको राष्ट्रिय जागरण अभियान : नेतादेखि कार्यकर्तासम्म जिम्मेवारी बाँडफाँट
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन देशभरका नेता तथा कार्यकर्ताको जिम्मेवारी निर्धारण गरेको छ। पार्टीले केन्द्रीय नेतृत्वदेखि स्थानीय तहसम्मका सदस्यलाई आफ्नो मतदाता नामावली रहेको क्षेत्रसँग जोडेर अभियानमा परिचालन गर्ने नीति लिएको छ।
पार्टीको केन्द्रीय संयोजन समिति बैठकका निर्णय समेटिएको ‘अन्तरपार्टी निर्देशन–५’ मार्फत कार्यविभाजनसम्बन्धी व्यवस्था गरिएको हो। अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुका साथै संगठन विस्तार, राजनीतिक विचारको प्रचार र जनपरिचालनलाई गति दिने उद्देश्यले जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ।
निर्देशनअनुसार केन्द्रीय कार्य संयोजन समितिका सदस्यलाई उनीहरूको मतदाता नामावली रहेको प्रदेशमा जिल्ला समन्वयको जिम्मेवारी दिइएको छ। उनीहरूले प्रदेश समिति र जिल्ला पार्टी समितिबीच समन्वय गर्ने, अभियानको प्रगति अनुगमन गर्ने तथा आवश्यक मार्गदर्शन र सहजीकरण गर्नेछन्।
गत निर्वाचनमा उम्मेदवार बनेका नेताहरूलाई आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिइएको छ। त्यसैगरी, केन्द्रीय सदस्यहरूले पालिका र वडा तहमा सञ्चालन हुने अभियान टोलीको नेतृत्व गर्ने व्यवस्था गरिएको छ। प्रादेशिक जिम्मेवारी नपाएका केन्द्रीय सदस्यलाई पनि मतदाता नामावली रहेको प्रदेशमा खटाइनेछ।
पार्टीका विभिन्न विभाग, मोर्चा र जनवर्गीय संगठनमा जिम्मेवारी सम्हालिरहेका नेता तथा कार्यकर्ताले पनि आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा रहेर अभियानमा योगदान दिनुपर्नेछ।
विदेशमा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई पनि अभियानमा सहभागी गराउने योजना बनाइएको छ। उनीहरू कार्यरत देशमै परिचालन गर्ने गरी सम्बन्धित प्रदेश समितिले आवश्यक कार्यविभाजन गर्ने निर्देशनमा उल्लेख छ।
प्रदेश समितिहरूलाई आफ्ना क्षेत्रअन्तर्गत रहेका केन्द्रीय सदस्यसँग समन्वय गरी अभियान सञ्चालन गर्न भनिएको छ। संगठनात्मक गतिविधि विस्तार गर्ने, पार्टीको वैचारिक पक्ष जनतासमक्ष पुर्याउने र स्थानीय स्तरमा जनसहभागिता बढाउने कामलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको छ।
नेकपाले जिम्मेवारी बाँडफाँटमार्फत राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्दै पार्टीको संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको छ।
