९ कात्तिक, पाल्पा । पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएकी छन्। मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोककी ३७ वर्षीया माया कुँवर रहेकी छन्।
सोमबार साँझ सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा नजिक दुर्घटना भएको हो। गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटरको पछाडि सवार माया कुँवर र चालक गुल्मीको इस्मा गाउँपालिका–४ की ३६ वर्षीया केशरी कुँवर घाइते भएका थिए। घटनालगत्तै प्रहरी चौकी दोभानबाट खटिएको टोलीले दुवैलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको थियो।
उपचारका क्रममा मायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलला भट्टराईले जानकारी दिए। स्कुटर चालक केशरीको अवस्था भने सामान्य रहेको उनले बताए।
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
