पीसीबीको अतिरिक्त शुल्क मागले एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्ना खेलाडीलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी गराउन प्रतिखेलाडी थप २५ हजार अमेरिकी डलर मागेपछि पाकिस्तानी खेलाडीको सहभागिता संकटमा परेको छ। प्रतियोगिता सुरु हुन दुई दिन मात्र बाँकी रहँदा बोर्डले अतिरिक्त रकम नदिए अनापत्ति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको बताइएको छ।
एनपीएलका विभिन्न फ्रेन्चाइज टोलीले पाकिस्तानका आठ खेलाडीलाई अनुबन्ध गरेका थिए। कर्णाली याक्सले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र अलराउन्डर हुसेन तलातलाई टोलीमा राखेको थियो। चितवन राइनोजले हसन अली, उस्मा मिर र मोहम्मद नवाजलाई अनुबन्ध गरेको थियो।
त्यस्तै, जनकपुर बोल्ट्समा इफ्तिखार अहमद र हुनैन साह तथा सुदूरपश्चिम रोयल्समा हैदर अली अनुबन्ध भएका थिए। केही खेलाडी एनओसी लिएर नेपाल आइसकेका भए पनि पीसीबीले थप रकमको माग अघि सारेपछि उनीहरूको सहभागितासमेत अनिश्चित बनेको छ।
चितवन राइनोजलाई बढी असर
पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको चितवन राइनोजले सबै तीन खेलाडीको उपलब्धतामा समस्या सामना गर्नुपरेको छ। प्रतियोगिता नजिकिँदै गर्दा टोलीले वैकल्पिक विदेशी खेलाडी खोज्न थालेको छ। चितवनले इंग्ल्यान्डका डेविड मलान र ड्यानियल रिचर्ड माउसलीलाई अनुबन्ध गरेको घोषणा गरेको छ।
फ्रेन्चाइज टोलीहरू अतिरिक्त शुल्क तिर्न तयार नभएपछि पाकिस्तानी खेलाडीको विकल्प खोज्नुपर्ने अवस्था आएको बताइएको छ। पीसीबीले आफ्नो मागमा लचकता नदेखाएको र नेपाल क्रिकेट संघ (क्यान) सँग प्रत्यक्ष संवादका लागि समेत तत्परता नदेखाएको स्रोतको दाबी छ।
क्यान अध्यक्षको प्रयासमा पनि संवाद हुन सकेन
समस्या समाधानका लागि क्यान अध्यक्ष चतुरबहादुर चन्दले पीसीबी अध्यक्ष मोहसिन नक्बीसँग सम्पर्क गर्ने प्रयास गरेका थिए। त्यसका लागि उनले नक्बीका सल्लाहकार तथा पाकिस्तान सुपर लिग (पीएसएल) का प्रमुख कार्यकारी अधिकृतलाई पटक–पटक ह्वाट्सएपमार्फत फोन र सन्देश पठाएको बताइएको छ। तर ती प्रयासमा जवाफ नआएको र फोनसमेत नउठाइएको स्रोतले जनाएको छ।
पीसीबी अध्यक्ष नक्बी पाकिस्तानका आन्तरिक मामिलामन्त्रीसमेत हुन्। उनी एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष पनि हुन्। नेपाल एसीसीको सदस्य राष्ट्र भएकाले यस विषयमा उनको भूमिकालाई लिएर क्यानका अधिकारीहरूले चासो व्यक्त गरेका छन्।
पीसीबीको आर्थिक अवस्थालाई हेर्दा पनि अतिरिक्त रकमको मागले नेपाली क्रिकेट वृत्तमा प्रश्न उठाएको छ। उपलब्ध विवरणअनुसार पीसीबीको कुल सम्पत्ति करिब ५५ मिलियन अमेरिकी डलर रहेको बताइन्छ।
सरकारी तहमा भने छलफल भएको छैन
पाकिस्तानी खेलाडीको एनओसी विवादबारे नेपाल र पाकिस्तानबीच सरकारी तहमा औपचारिक संवाद भएको जानकारी सार्वजनिक भएको छैन। दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको अवस्थामा क्रिकेटसम्बन्धी यो विवादले खेलकुद क्षेत्रमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
क्यान अध्यक्ष चन्दले पाकिस्तानी बोर्डको व्यवहारबाट आफूहरू आश्चर्यचकित र दुःखी भएको बताएका छन्। नेपाल प्रेससँग कुरा गर्दै उनले यस्तो अवस्था अपेक्षा नगरेको उल्लेख गरे।
चन्दका अनुसार पाकिस्तानी खेलाडीहरू एनपीएलबाट बाहिरिनुपर्ने सम्भावना छ। यद्यपि, यस विषयमा अन्तिम निर्णय गर्ने जिम्मेवारी क्यानले फ्रेन्चाइज टोलीहरूलाई नै दिएको छ।
