नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान् र लेखकका विचार तथा लेखलाई भन्दा विदेशी लेखकका विचार र लेखलाई बढी महत्व दिने गरेको टिप्पणी गरेका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्। उनले नेपालीले लेखेका तथ्यपूर्ण र तर्कसंगत विचारलाई समेत पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको बताएका छन्।
नेपाली समाजमा विदेशी लेखकप्रतिको आकर्षण र आफ्नै देशका लेखक तथा चिन्तकलाई कम महत्व दिने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाइ छ। उनले आफूले नेपाली लेखकहरूसँग बसेर छलफल गर्ने कार्ययोजना रहेको पनि सुनाएका छन्। छिट्टै नै नेपाली लेखक तथा चिन्तकहरूसँग बसेर छलफल गर्ने उनले बताएका छन्।
उनले भने, ‘हामी आफूकहाँ भएका विद्वान् त्यति चिन्दैनौँ। सम्भवतः तपाईंहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उदाहरण कमै गर्नुभएको होला, विदेशीका उदाहरण बढी गर्नुभएको होला। किनभने नेपालीले लेखेकोलाई त्यति विद्वत्तापूर्ण ठान्दैनौँ, त्यसकारण उदाहरण गरिरहनुपर्ने आवश्यकता पनि देख्दैनौँ। जतिसुकै विद्वान् किन नहोस्, जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण भए पनि हामी विद्वान् लेखकहरूलाई अलिक बाहिरकै ठान्छौँ।’
ओलीले नेपाली समाजले आफ्नै ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको पहिचान गर्नुपर्नेमा जोड दिएका छन्। स्वदेशी लेखकका रचनालाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने प्रवृत्ति विकास गर्नुपर्ने उनको भनाइ छ।
