- नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने तयारी गरेको छ।
- अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले तय गर्नेछ। छठलगत्तै वा मङ्सिरको अन्तिम साता अधिवेशन हुन सक्ने सम्भावना छ।
- एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ भने ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ।
काठमाडौँ । नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गर्ने तयारी गरेको छ। पार्टीका नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले अधिवेशनको मिति केन्द्रीय कार्यसमितिको बैठकबाट निर्धारण गरिने बताएका छन्।
राणाका अनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहणपछि बस्ने बैठकले अधिवेशनको मिति तय गर्नेछ। अधिवेशन छठ पर्वलगत्तै वा मङ्सिरको अन्तिमतिर आयोजना हुन सक्ने उनले बताए।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। त्यस क्रममा समय अभावका कारण जिल्ला र प्रदेश अधिवेशन पछि गर्ने निर्णय गर्दै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न गरेर केन्द्रीय महाधिवेशन गरिएको थियो।
एउटा मात्रै निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। अब ४२ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ। महाधिवेशन प्रतिनिधि निर्वाचन क्षेत्रबाट चयन हुने भएकाले एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि जिल्ला र प्रदेश अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय कार्यसमितिले निर्धारण गर्ने बताएका छन्। उनका अनुसार अधिवेशन मङ्सिरभन्दा पछाडि धकेलिने सम्भावना छैन।
