- इप्पान अध्यक्ष मोहनकुमार डाँगीले नेपालका जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी तथा प्रविधिगत सहकार्य गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
- बाँध निर्माण, जलविद्युत् प्रविधि र जलवायु परिवर्तनको जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासमा क्यानडाको अनुभव नेपालका लागि उपयोगी हुने उनको भनाइ छ।
- सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन क्षमताको लक्ष्य पूरा गर्न निजी क्षेत्रको लगानी र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको डाँगीले बताएका छन्।
काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय लगानी र आधुनिक प्रविधिको सहभागिता बढाउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आह्वान गरेका छन्।
क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा ट्रेड सो–२०२६ मा सहभागी हुन क्यानडा पुगेका डाँगीले सम्बोधनका क्रममा नेपाल र क्यानडाबीच जलविद्युत् विकासमा सहकार्य विस्तार गर्नुपर्ने बताएका हुन्।
उनले बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना निर्माण, जलविद्युत् प्रविधि र जलवायु अनुकूल पूर्वाधार विकासमा क्यानडाले हासिल गरेको अनुभव नेपालका लागि महत्त्वपूर्ण हुन सक्ने उल्लेख गरे। नेपालको जलविद्युत् सम्भावना र क्यानडाको प्राविधिक दक्षतालाई जोड्न सके दुवै देशलाई दीर्घकालीन लाभ पुग्ने उनको धारणा छ।
डाँगीले नेपालमा जलविद्युत् विकासका लागि पर्याप्त सम्भावना रहेको बताउँदै ठूला जलाशययुक्त आयोजना निर्माण, बाँधको सुरक्षा सुदृढीकरण र आधुनिक प्रविधिको प्रयोगमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको औँल्याए। सुरक्षित, दिगो र जलवायु परिवर्तनका असर सामना गर्न सक्ने आयोजना निर्माणमा नेपाल र क्यानडाबीच साझेदारीको अवसर रहेको उनले बताए।
सन् २००१ मा स्थापना भएको इप्पानले निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा नेपालको ऊर्जा क्षेत्र विस्तारमा भूमिका निर्वाह गर्दै आएको डाँगीले उल्लेख गरे। उनका अनुसार सन् १९९९ देखि जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएयता नेपालको विद्युत् उत्पादन क्षमता उल्लेखनीय रूपमा बढेको छ।
उनले नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४.३ गिगावाट पुगेको र त्यसमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रबाट विकसित आयोजनाको रहेको जानकारी दिए।
डाँगीका अनुसार जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा गरेको आकलन तथा अन्य अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना देखाएका छन्। नदी प्रवाही, पिकिङ रन अफ रिभर, जलाशययुक्त र पम्प्ड स्टोरेज आयोजना विकास गर्न सके नेपाल दक्षिण एसियाको स्वच्छ ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उनले बताए।
नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै उनले त्यसका लागि हालको क्षमताभन्दा थप २४ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उक्त लक्ष्य पूरा गर्न निजी क्षेत्रको लगानीसँगै विदेशी लगानीकर्ता र प्राविधिक संस्थासँगको सहकार्य महत्त्वपूर्ण हुने उनको भनाइ छ।
नेपालको ९८ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गर्दै डाँगीले जलविद्युत्ले आर्थिक विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तर सुधार र स्वच्छ ऊर्जाको व्यापार विस्तारमा योगदान दिइरहेको बताए।
उनले दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय ऊर्जा सहकार्य विस्तार गर्न सके नेपालले स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा आफ्नो भूमिका बढाउन सक्ने धारणा राखे।
डाँगीले जलविद्युत् आयोजना विकास, लगानी, अनुसन्धान, प्रविधि हस्तान्तरण, प्राविधिक तालिम तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र विज्ञलाई नेपालसँग सहकार्य गर्न आग्रह गरेका छन्।
