११ कात्तिक, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको स्वीप अपरेसनका क्रममा प्रहरीले २४ घण्टाभित्र ९२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ८४ जना पुरुष र ८ जना महिला छन्। उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
प्रहरीले अपराध रोकथाम तथा नियन्त्रण गर्ने र समाजमा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले अपरेसन सञ्चालन गरेको जनाएको छ। यस क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न हुने तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै कारबाही गरिएको प्रहरीले बताएको छ।
