तीन महिनामै ७ खर्ब ६१ अर्बको वैदेशिक व्यापार, व्यापार घाटा ५ खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनदेखि असोजसम्म नेपालले ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशत बढी हो। गत वर्ष यस अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको व्यापार भएको थियो।
व्यापारको आकार बढे पनि आयात र निर्यातबीचको अन्तर फराकिलो हुँदा नेपालको व्यापार घाटा पनि उच्च देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको तुलनामा ३४.७१ प्रतिशत बढी हो।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँका वस्तु आयात भएका थिए। यस आधारमा आयात ३८.१८ प्रतिशतले बढेको छ।
यता, निर्याततर्फ पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको असोजसम्म नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। यससँगै निर्यातमा ५७.०३ प्रतिशतको वृद्धि देखिएको छ।
आयात र निर्यात दुवै बढे पनि आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले व्यापार घाटा नेपालको अर्थतन्त्रका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ।
