जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी सुरु, ४५० भन्दा बढी प्रजातिका फूल राखिए
काठमाडौं, १२ कात्तिक । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा ८६ वटा स्टलमार्फत नेपालमा उत्पादित तथा यस वर्ष भित्र्याइएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री र प्रदर्शनका लागि राखिएका छन्। साथै, गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धासमेत आयोजना गरिएको छ।
प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन्।
