गत जेठ २६ गते उक्त सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए। उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल पुर्याइएका उनको भोलिपल्ट जेठ २७ गते मृत्यु भएको थियो।
मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालको शवगृहमा राखेको थियो। साथै, आफन्तले पहिचान गर्न सकून् भनेर मृतकको हुलियासहित सार्वजनिक सूचना जारी गरिएको थियो।
प्रहरीको सूचनाका आधारमा अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन्। त्यसपछि प्रहरीले शव परिवारलाई जिम्मा लगाएको थियो। परिवारले चिसाङ खोलामा लगेर अन्त्येष्टिसमेत गरेको थियो।
छोरा गुमाएको शोकमा परिवारले यस वर्ष दशैंको टीकासमेत लगाएन। तर, दशैंको पूर्णिमाका दिन पदमबहादुर जीवितै घर फर्किएपछि परिवार अचम्मित भएको छ। मृत्यु संस्कार गरिसकेका व्यक्ति फर्किएपछि परिवारले धार्मिक विधिअनुसार उनको पुनर्जन्मको संस्कारसमेत गराएको छ।
पदमबहादुर घर फर्किएपछि परिवारमा खुसी छाए पनि जेठमा अन्त्येष्टि गरिएको शव कसको थियो भन्ने प्रश्नले चिन्ता बढाएको छ।
स्थानीय पत्रकार तथा पदमबहादुरका छिमेकी प्रशान्त निरौलाका अनुसार परिवार एकातिर छोरा जीवितै फर्किएकोमा खुसी छ भने अर्कोतिर अर्कै व्यक्तिको शव अन्त्येष्टि गरेको थाहा पाएपछि त्रासमा छ। उनका अनुसार दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचान नखुलेसम्म परिवारमा अन्योल कायमै रहनेछ।
प्रहरीले सुरुमै डीएनए परीक्षण गरेर शव परिवारलाई जिम्मा लगाएको भए यस्तो अवस्था नआउने निरौलाको बुझाइ छ।
दुर्घटना बीमाको क्षतिपूर्तिसमेत बुझिसकेको परिवार अन्योलमा
पदमबहादुर जीवितै घर फर्किएपछि इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको नेतृत्वमा प्रहरी टोली उनको घर पुगेको थियो। उनी लामो समय कहाँ र कसरी बसे भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन। प्रहरीका अनुसार उनको मानसिक अवस्था पनि कमजोर छ।
जेठमा भएको दुर्घटनापछि परिवारले दुर्घटना बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको छ। तर, पदमबहादुर जीवितै भेटिएपछि उक्त रकम र सरकारी अभिलेखको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रहरी अन्योलमा परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार बीमाबापत प्राप्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।
उनका अनुसार सरकारी अभिलेखमा बेवारिसे शवका रूपमा रहेको विवरण सच्याइनेछ। त्यसपछि जेठमा दुर्घटनामा परी मृत्यु भएका वास्तविक व्यक्तिको पहिचान खुलाउन प्रहरीले पुनः अनुसन्धान थाल्नेछ।
