उनका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा भइरहेको वर्षा चक्रवात ‘अर्नब’ को प्रभावका कारण हो । तर कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको बताएका छन् ।
लुम्बिनी र गण्डकीमा वर्षा भइरहे पनि ‘अर्नब’ र पश्चिमी वायुको कमजोर प्रभाव मात्र परेको उनको भनाइ छ । सोही कारण अपेक्षित वर्षा नभएको उनले अनुमान गरेका छन् ।
‘अहिले वर्षाले नेपालका सातै प्रदेश छोएको छ। तर रोचक कुरा के छ भने वर्षा गराउने प्रणाली भने सबै ठाउँमा एउटै छैन। सुदूरपश्चिम र कर्णालीमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण हो भने बागमतीदेखि कोशीसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित छ,’ पोखरेलले बताएका छन्, ‘गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा भने दुवै प्रणालीको कमजोर प्रभाव मात्र परेको छ, भनौँ, यता न उताको अवस्था । त्यसैले ती क्षेत्रमा अहिले खासै वर्षा हुन सकेको छैन।’
