काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने प्रक्रिया अघि बढाएको छ। यसका लागि पार्टीले आवश्यक कागजात संकलन तथा तयारी गरिरहेको जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आवश्यक कागजात तयार भएपछि सम्भव भएसम्म आजै निर्वाचन आयोगमा निवेदन पेस गर्ने तयारी छ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले नयाँ कार्यसमितिको विवरण आयोगमा अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिवलाई दिएको थियो।
सोही निर्णयअनुसार पार्टीले आयोगमा विवरण अद्यावधिक गराउने प्रक्रिया अघि बढाएको हो। पौडेलले अद्यावधिकका लागि आवश्यक कागजात तयार पार्ने काम भइरहेको र छिट्टै आयोगमा निवेदन दिने जानकारी दिएका छन्।
१५औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन्।
राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएपछि दलहरूले नयाँ निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने प्रावधान छ।
