कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार ठूलो गोलभेँडा, रातो आलु र सुकेको प्याजको मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज ठूलो गोलभेँडा नेपाली तथा भारतीय दुवै प्रतिकिलो ६५ रुपैयाँ, रातो आलु (मुडे र लाम्चो) ५७ रुपैयाँ र भारतीय सुकेको प्याज ८७ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजोको तुलनामा आज मटरकोसाको मूल्य प्रतिकिलो १८ रुपैयाँले बढेर १३५ रुपैयाँ पुगेको छ। यसअघि ११७ रुपैयाँ रहेको मटरकोसाको भाउ बढेको हो।
त्यस्तै, घिउसिमी (राजमा) प्रतिकिलो ११० रुपैयाँबाट बढेर १२७ रुपैयाँ पुगेको छ। हरियो भटमासको मूल्य पनि ९५ रुपैयाँबाट बढेर ११० रुपैयाँ कायम भएको छ।
अन्य तरकारीमध्ये भिन्डीको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको छ। घिरौँला २५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ भने सुकेको चाइनिज लसुनको मूल्य २३० रुपैयाँबाट बढेर २४० रुपैयाँ कायम भएको छ।
यता केही तरकारीको मूल्य घट्दा उपभोक्तालाई राहत मिलेको छ। सबैभन्दा धेरै अकबरे खुर्सानी सस्तिएको छ। हिजो प्रतिकिलो १७५ रुपैयाँ रहेको अकबरे खुर्सानी आज १२५ रुपैयाँमा झरेको छ।
त्यसैगरी, बुलेट खुर्सानीको मूल्य ११० रुपैयाँबाट घटेर ९६ रुपैयाँ पुगेको छ। लोकल तथा हाइब्रिड घिउसिमी प्रतिकिलो ३५ रुपैयाँबाट घटेर २५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तितेकरेलाको मूल्य ८५ रुपैयाँबाट घटेर ७५ रुपैयाँ र टाटेसिमीको मूल्य ६५ रुपैयाँबाट घटेर ५५ रुपैयाँ कायम भएको कालीमाटी बजारको मूल्यसूचीमा उल्लेख छ।
