काठमाडौं । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि उनीहरू अहिले प्रहरीको हिरासत वा सम्पर्कमा नरहेको खुलेको छ। दुवैलाई काठमाडौं पठाइएको भनिए पनि उनीहरूको अवस्थाबारे सम्बन्धित प्रहरी निकायले स्पष्ट जानकारी दिन सकेका छैनन्।
बिहीबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा महानिर्देशक रजौरियालाई सिन्धुलीस्थित आयोजना कार्यालयबाट काभ्रे प्रहरीको जिम्मा लगाइएको थियो। सिन्धुली प्रहरीका इन्स्पेक्टर उज्ज्वल कार्कीले रजौरियालाई काभ्रे पठाइएको पुष्टि गरेका छन्। तर, काभ्रेबाट उनलाई कहाँ पठाइयो भन्ने विषयमा जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिन चाहेनन्।
त्यसैगरी, शुक्रबार बिहान आयोजना प्रमुख रिजाललाई पनि काठमाडौं पठाइएको बताइएको छ। तर, दुवै जना काठमाडौं प्रहरीको सम्पर्कमा नरहेको पाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले उनीहरू प्रहरी हिरासतमा नरहेको जानकारी दिए। उनले भने, ‘उहाँहरू हाम्रो हिरासतमा हुनुहुन्न, अन्यत्र कतै हुनुहुन्छ भन्नेबारे पनि जानकारी छैन।’
सिन्धुलीका सांसद आशिष गजुरेलले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा भएको भनिएको अनियमितताबारे अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए। महानिर्देशक रजौरिया र आयोजना प्रमुख रिजाललाई सिन्धुलीबाट काठमाडौं पठाउन पनि सांसद गजुरेलले नै अनुरोध गरेको प्रहरी स्रोतको दाबी छ।
उच्च प्रहरी स्रोतका अनुसार दुवै जनासँग सम्बन्धित विषयको अनुसन्धान गर्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिने तयारी गरिएको छ। यद्यपि, सीआईबीले उनीहरूलाई अहिलेसम्म आफ्नो नियन्त्रणमा लिएको छैन।
प्रहरी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री कार्यालयमा उनीहरूसँग केही सोधपुछ गरिएको थियो। त्यसपछि शुक्रबार प्रहरीको सम्पर्कमा आउन भनिए पनि उनीहरू हालसम्म सम्पर्कमा नआएको एक प्रहरी अधिकारीले बताए।
