काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको आलोचना गर्दै त्यसलाई ‘लाजमर्दो’ र ब्राजिलका नागरिकका लागि ‘अपमानजनक’ भनेका छन्।
वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारे। यद्यपि, ब्राजिलमा भएको घटनाबारे टिप्पणी गर्नसमेत कठिन रहेको उनको भनाइ थियो।
‘मैले निर्वाचनमा कसैको पक्ष लिएको थिइनँ। तर ब्राजिलमा जे भयो, त्यसलाई शब्दमा व्यक्त गर्नै कठिन छ,’ ट्रम्पले भने।
ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा वर्कर्स पार्टीका नेता लुइज इनासियो लुला दा सिल्भाले शानदार पुनरागमन गर्दै जित हासिल गरेका छन्। यससँगै ८० वर्षीय लुला चौथोपटक राष्ट्रपति बन्ने भएका छन्।
उनले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन्।
आइतबार सम्पन्न दोस्रो चरणको मतदानको लगभग सबै मतगणना सकिँदा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी तथा जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन्।
लुलाको जित निर्वाचनअघिका सर्वेक्षणको अनुमानभन्दा फरक देखिएको छ। ती सर्वेक्षणहरूले फ्लाभियो बोल्सोनारोलाई झिनो अग्रता देखाएका थिए।
यसै महिनाको सुरुवातमा भएको पहिलो चरणको मतदानमा ४५ वर्षीय सिनेटर फ्लाभियोले लुलाभन्दा करिब दुई प्रतिशत विन्दु बढी मत प्राप्त गरेका थिए। तर दोस्रो चरणमा नतिजा उल्ट्याउँदै लुलाले राष्ट्रपति निर्वाचनमा बाजी मारेका हुन्।
