काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पार्टीको वर्तमान अवस्थाका लागि केन्द्रीय नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका छन्। महाधिवेशन आउन एक महिना मात्र बाँकी रहँदा पनि पार्टीभित्र चुनावी उत्साह र संगठनात्मक सक्रियता नदेखिएको उनको भनाइ छ।
महोत्तरीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा अन्तर्क्रियामा बोल्दै थापाले पछिल्लो डेढदेखि दुई वर्षयता पार्टीका गतिविधि प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए।
उनका अनुसार पार्टी केन्द्रले पर्याप्त कार्यक्रम दिन नसक्दा जिल्ला तथा गाउँ तहका संगठन र भ्रातृ संस्थाहरू निष्क्रिय बनेका छन्। चुनाव नजिकिँदै गर्दा उम्मेदवार बन्न चाहने कार्यकर्तासमेत उत्साहित नरहेको उनले उल्लेख गरे।
थापाले पार्टीप्रति जनताको विश्वास कमजोर हुँदै जानुको कारण स्थानीय तहका कार्यकर्ता नभई केन्द्रीय नेतृत्वका निर्णय र कमजोरी रहेको दाबी गरे।
‘जिल्ला र गाउँमा बसेर काम गर्ने कार्यकर्ताको यसमा दोष छैन। गल्ती भएको छ भने केन्द्रीय नेतृत्वबाटै भएको हो। पटक–पटकका कमजोरीका कारण जनताले हामीमाथिको भरोसा गुमाउँदै गएका छन्,’ उनले भने।
हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर चुनावमा मत माग्ने तर निर्वाचनपछि गणतन्त्र स्थापनाका प्रमुख नेतामध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने पार्टीको निर्णयप्रति पनि उनले असन्तुष्टि जनाए।
अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै थापाले यस्तो राजनीतिक व्यवहारले जनतामाझ पार्टीको प्रतिबद्धतामाथि प्रश्न उठ्ने बताए।
‘हामी हिन्दू राष्ट्र र राजसंस्थाको कुरा गर्छौँ, चुनाव जितेपछि गणतन्त्रका प्रमुख संवाहक प्रचण्डकै नेतृत्वमा सरकारमा जान्छौँ। त्यसपछि जनताले हामीलाई कसरी विश्वास गर्छन् ? हामीमा इमानदारिता देखिएन,’ उनले भने।
थापाले पार्टीका कमजोरीमा सबैको साझा जिम्मेवारी रहेको स्वीकार गर्दै आफूले पनि विगतका गल्तीप्रति आत्मालोचना गर्ने बताए। अब इमानदारीपूर्वक अघि बढ्ने प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
उनले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा पूरा नभएसम्म सत्ताकेन्द्रित प्रतिस्पर्धामा सहभागी नहुने विश्वास जनतामाझ स्थापित गर्नुपर्नेमा जोड दिए।
भ्रष्टाचार र वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्ट जनतालाई विश्वासमा लिन राप्रपाले स्पष्ट प्रतिबद्धतासहित अघि बढ्नुपर्ने पनि थापाले बताए।
