काठमाडौं । दक्षिण–पूर्वी एसियाली मुलुकमा सञ्चालित अनलाइन ठगी केन्द्रमा फसाइएका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा रहेका अनलाइन स्क्यामिङ केन्द्रबाट हालसम्म उक्त संख्यामा नेपालीको उद्धार गरिएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार आकर्षक रोजगारी र अन्य अवसरको प्रलोभनमा परेर अनलाइन ठगीसम्बन्धी गतिविधिमा संलग्न हुन बाध्य पारिएका नेपाली अलपत्र पर्ने क्रम अझै रोकिएको छैन। पीडित तथा उनीहरूका आफन्तले मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासमा सहयोगका लागि सम्पर्क गरिरहेका छन्।
सम्पर्कमा आएका नेपाली नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित देशका निकाय तथा नेपाली कूटनीतिक नियोगमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
यस्ता घटनाबाट जोगिन विदेशमा रोजगारी तथा अन्य अवसरको नाममा दिइने झुटा आश्वासन र प्रलोभनमा नपर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, गैरकानुनी गतिविधिमा संलग्न नहुन र विदेश जानुअघि अवसर तथा कामको आधिकारिकता यकिन गर्न पनि मन्त्रालयले सचेत गराएको छ।
