वरिष्ठ हास्यव्यङ्ग्य तथा चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा चलचित्र तथा टेलिचलचित्र अत्यन्त शक्तिशाली माध्यम भएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ लाई सम्बोधन गर्दै उनले छोटो समयमै आम नागरिकसम्म सन्देश पुर्याउन टेलिचलचित्रले महत्त्वपूर्ण भूमिका खेलेको ऐतिहासिक अनुभव स्मरण गरे ।
राजधानीमा आयोजित महोत्सवमा भारतीय वरिष्ठ अभिनेत्री शबाना आजमी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता श्रेष्ठले चलचित्र क्षेत्र र कलाकारहरूलाई प्रत्यक्ष जोडेर महानगरपालिकाले यस्तो महोत्सव आयोजना गर्नु सकारात्मक र नौलो अभ्यास भएको बताए ।
आफ्नो अभिनय यात्राको स्मरण गर्दै श्रेष्ठले लामो समयसम्म व्यावसायिक फिचर फिल्मभन्दा सन्देशमूलक टेलिचलचित्र निर्माणमा केन्द्रित हुनुको कारण पनि खुलाए । महोत्सवका क्रममा उनले आफूले समेत अभिनय गरेको र डा. कपिल रिजालले निर्देशन गरेको नेपाली चलचित्र ‘गौँथली’ ले फ्रान्सको ‘कान्स वर्ल्ड फिल्म फेस्टिभल’ मा अवार्ड प्राप्त गरेको जानकारी दिए ।
उनले फिचर फिल्म निर्माण र प्रदर्शनमा लामो समय लाग्ने भए पनि टेलिभिजनका माध्यमबाट एउटै सन्देश छोटो समयमै करोडौँ नागरिकसमक्ष पुर्याउन सम्भव भएकाले जनचेतनामूलक टेलिफिल्मलाई प्राथमिकता दिएको बताए ।
निर्देशक रिजालले फ्रान्सबाट फोन गरेर उक्त अन्तर्राष्ट्रिय सफलताको खबर सुनाएको उल्लेख गर्दै श्रेष्ठले नेपाली चलचित्रले विश्व मञ्चमा स्थान बनाउँदै गएकोमा गौरव व्यक्त गरे ।
हाल पार्किन्सन्स रोगसँग जुधिरहेका ७३ वर्षीय अभिनेता श्रेष्ठले शारीरिक अस्वस्थता र हिँडडुल गर्न कठिनाइ भए पनि कला क्षेत्रप्रतिको आत्मीयताका कारण कार्यक्रममा उपस्थित भएको बताए ।
सोही अवसरमा उनले करिब चार दशकअघि काठमाडौंको विशाल बजारमा आयोजित एक समारोहमा भारतीय अभिनेत्री शबाना आजमीको हातबाट उत्कृष्ट हास्यकलाकारको पुरस्कार ग्रहण गरेको क्षण भावुक हुँदै स्मरण गरे ।
