नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी छन्। सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन् । उनले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराइन् । उनले नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पुर्याएको क्षति दुःखद् रहेको उल्लेख गरेको बताइन् ।
उनले बताइन्, ‘दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन । इतिहास नबुझ्नेहरूको शासन क्षणिक हुन्छ, तर संगठन र विचारले मात्र देशलाई दीर्घकालीन दिशा दिन सक्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गरिएको भनिएको आन्दोलन किन एक्कासि हिंस्रक बन्यो? संसद भवन घेराउ गर्ने, सार्वजनिक सम्पती तोडफोड गर्ने र जनप्रतिनिधिहरूमाथि भौतिक आक्रमण गर्ने काम कसको स्वार्थका लागि थियो ?’
उनले लोकतन्त्रको रक्षाका लागि संघर्ष गरेका नेताहरूमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने संकेत गरेको बताइन् । उनले वर्तमान सरकारसँग जनादेशलाई संस्थागत गर्ने इमानदारिता नभएको जिकिर गर्दै राजनीतिक स्थिरताका लागि दलविरोधी अभियानहरू घातक रहेको चेतावनी दिएको बताएकी छन् । –न्युज एजेन्सी नेपाल
