महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइने बताएका छन्।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बादीले यस्तो बताएका हुन्। यसअघि तत्कालीन सरकारले २०८० पुस १८ गते कार्यविधिको मस्यौदा तयार गरी राय र सुझावका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। त्यसबेला अघि बढ्न नसकेको व्यक्तिगत सहयोगी सेवासम्बन्धी कार्यविधिको अध्ययन भइरहेको मन्त्री बादीले बताएका छन्।
चालु आर्थिक वर्षभित्र व्यक्तिगत सहयोगी सेवासम्बन्धी अध्ययन सम्पन्न गरी कार्यविधि निर्माणको काम अघि बढाइने उनको भनाइ छ। उनका अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७७ को व्यवस्थाअनुसार व्यक्तिगत सहायता तथा सहयोगी सेवा कार्यान्वयनका लागि उक्त व्यवस्था गर्न लागिएको हो।
उनले भनेका छन्, ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र यसको नियमावली, २०७७ को नियम ९ बमोजिम व्यक्तिगत सहायता तथा व्यक्तिगत सहयोगी सेवा व्यवस्था कार्यान्वयनका सम्बन्धमा यस मन्त्रालयले व्यक्तिगत सहयोगी सेवासम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी २०८० पुस १८ गते राय र सुझावका लागि अर्थ मन्त्रालय पठाएकोमा सो समयमा स्पष्ट राय प्राप्त नभएकोले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत व्यक्तिगत सहयोगी सेवासम्बन्धमा अध्ययन गर्ने कार्य भइरहेको छ।’
‘सो सम्बन्धमा यसै आर्थिक वर्षभित्र अध्ययन सम्पन्न गरी कार्यविधि निर्माणको कार्यलाई अगाडि बढाउनेछौँ। यसैगरी मन्त्रालयले अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई एकीकृत सूचना प्रणालीमा जोडिएको छ। ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गरेर अपाङ्गतासम्बन्धी सूचना प्रणालीलाई प्रभावकारी बनाउने कार्य भइरहेको छ।’
मन्त्री बादीले अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई एकीकृत सूचना प्रणालीमा जोडिएको जानकारी दिँदै ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गरी अपाङ्गतासम्बन्धी सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको बताएका छन्।
